झापा, मंसिर ९ । झापाको प्रसिद्ध धार्मिकस्थल शिवसताक्षी धाम र अर्जुनधारा जलेश्वरधाममा बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ ।
सयवटा आँखा भएकी देवीको मन्दिरको रुपमा सताक्षीधाम परिचित छ । त्यसै गरी अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथ भनिन्छ ।

दुवै स्थानमा गत सातादेखि धार्मिक अनुष्ठान भइरहेको छ । अर्जुनधाराको बामन महापुराण र सताक्षीधामको कोटीहोम महायज्ञको आज बाला चतुर्दशीमा समापन हुँदैछ ।
दिवङ्गत आत्माको मोक्षका लागि धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत अन्नको शतबीज छर्ने धार्मिक परम्परा छ । आजका दिन शतबीज छर्दा सुन दान गरे बराबरको पुण्य मिल्ने र पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन गरिएको छ ।
शतबीज छर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ्ग, सुनसरीसँगै भारतको दार्जिलिङ, आसाम र सिक्किमलगायतका स्थानबाट हजारौँ हिन्दू भक्तजन आइतबार बेलुकादेखि नै धाममा जाग्राम बसेको सताक्षीधाम१०८ कुण्डीय कोटिहवन मुल आयोजक समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए ।
शतबीज छर्न बिहानैदेखि भेला भएका भक्तजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने स्वयंसेवकसमेत खटिएका छन् । सताक्षीधामलगायत दर्जनौँ शिवालयमा आज शतबीज छर्ने घुइँचो लागेको छ ।

