झापा, पुष ६ । सामुदायिक विद्यालयमा अध्ययनरत् किशोर किशोरीलाई लागु पदार्थको दुव्र्यशन न्यूनिकरणका लागि प्रदान गरिने तालिम बारे आइतबार अन्र्तक्रिया गरिएको छ । सामुदायिक विकास मञ्चको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा नगरको सभाकक्षमा सरोकारवाला पक्षबीच सो विषयमा एक दिने अन्र्तक्रियात्मक छलफल गरिएको हो ।
अन्र्तक्रियामा मेचीनगर उपप्रमुख मीना उप्रेतीले नगरको सहयोगमा मञ्चले आउँदो माघ ५ गतेदेखि सामुदायिक विद्यालयमा सञ्चालन गर्न लागेको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
उनले नगरभरका १८ वटा सामुदायिक माविका किशोर किशोरीलाई लक्षित गरी सुरु हुने अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सबैपक्ष क्रियाशील हुनुपर्ने विचार राखिन् ।
सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, काँकरभिट्टा माविका प्रधानाध्यापक तुलसीप्रसाद निरौला, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईंटेललगायतले आफ्ना धारणा राखेका थिए ।
अन्र्तक्रियाका वक्ताहरुले सूर्तीजन्य पदार्थको बिक्री वितरण विद्यालय हाताबाट १ सय मिटर टाढा गरिनुपर्नेमा जोड दिए । विद्यालय आसपासका क्षेत्रमा समेत सूर्तीजन्य पदार्थ नियन्त्रण नभएको उनीहरुको भनाई थियो । विद्यालय परिसरमा त्यस्ता हानिकारक पदार्थ बिक्री वितरणमा निषेध गर्नेगरी कानुन निर्माण गरी कार्यान्वयन गर्न प्रधानाध्यापकहरुले स्थानीय तहलाई आग्रह गरे ।
त्यसक्रममा नगरका १४ वटा माविका प्रधानाध्यापकहरुको सहभागिता थियो । छलफलको सहजीकरण आयोजक संस्थाका अध्यक्ष सोमराज ढकाल र नाइट चेस क्लवका अनुगमन तथा मूल्यांकन अधिकृत गोविन्द न्यौपानेले गरेका थिए ।

