झापा, पुष ६ । पर्यटन वर्ष २०२० नजिकिएसँगै काँकरभिट्टा क्षेत्रको मुहार फेर्न विभिन्न संघसंस्थाले सक्रियता देखाउन थालेका छन् ।
शनिबार क्षेत्रीय होटल व्यवसायी संघको अगुवाईमा काँकरभिट्टा क्षेत्रको सरसफाई गरिएको छ । ‘आफ्नो टोल–गाउँ सफा राखौँ’ भन्ने उद्घोषसहित सुरु भएको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटल व्यवसायी तथा स्थानीयहरु सहभागी थिए ।
सहभागीहरुले काँकरभिट्टा बजार, बस पार्क, बाहुनडाँगी सडक खण्डलगायत विभिन्न क्षेत्रको सरसफाई गरेका थिए । सरसफाई कार्यक्रममा मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी गोविन्दकुमार कार्की, प्रहरी निरीक्षक सुभाष खनाल, सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइराला, ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर कार्की, स्थानीय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र घिमिरेलगायतको उपस्थिति थियो ।
सरसफाईपछि आयोजित कार्यक्रममा वडा अध्यक्ष तामाङले पर्यटन वर्ष २०२० लाई सफल पार्न सुन्दर र सफा नगर निर्माण गर्ने लक्ष्यसहित सरसफाई अभियान थालिएको बताए । पछिल्लोसमय काँकरभिट्टाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको उनले बताए । संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) ले अभियान अन्तर्गत एक वर्षसम्म हरेक साताको शनिबार सरसफाई कार्यक्रम गरिने बताए ।

