काठमाडौं, पुष १० । सूर्यग्रहण नांगो अाँखाले हेर्न हुँदैन । सकभर ग्रहण नहेर्न विज्ञहरुले सुझाव दिएका छन् । हेर्नैपरे कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सुझाइएको छ ।
अाज खण्डग्रास (आधाढाक्ने) सूर्य ग्रहण लाग्दै छ । सूर्यग्रहण बिहान ८ः४२ बाट सुरु भएर ११ः३१ मा सकिने छ । पूर्वी नेपालमा पहिले र पश्चिम नेपालमा केही समयपछि ग्रहण देखिनेछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १०ः०१ बजे ग्रहण मध्य हुनेछ । ग्रहणमा सूर्यको ३९ प्रतिशत भाग चन्द्रमाले छेक्ने बताइएको छ ।
ग्रहणका बेला मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक परावैजानी किरण फैलिएको हुन्छ । यसकारण ग्रहण हेर्न हुँदैन भनिएको हो ।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार बिहीवार बिहान ८ बजेर ४३ मिनेटमा काठमाण्डूबाट सूर्यग्रहण देखिनेछ।
त्यस्तै ८ बजेर ३३ मिनेटमा महेन्द्रनगरबाट र ८ बजेर ४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिनेछ।
उनका अनुसार काठमाण्डूमा ११ बजेर ३३ मिनेटमा सूर्यग्रहण सकिनेछ। उनका अनुसार यो सूर्यग्रहणलाई दुर्लभ खालकै सूर्यग्रहण भन्न सकिन्छ।
कर्कट, तुला, कुम्भ र मीन राशी भएकाहरुलाई यो सूर्य ग्रहण शुभ रहेको समितिले जनाएको छ । सो राशी भएका व्यक्तिहरुले ग्रहण हेर्दा लाभ हुने तर अन्य राशिका व्यक्तिहरुलाई भने सूर्य ग्रहण हेर्नु शुभ नभएको समितिले जनाएको हो ।
काठमाडौं उपत्यका तथा अासपासका क्षेत्र सहित लगभग देशैरभरबाट ग्रहण देखिने बताइएको छ ।
ग्रहणको सुतक बुधबार बेलुकी ८ः४२ देखि नै सुरु भएको थियो । ग्रहण लाग्नुभन्दा १२ घण्टा अघि देखि सुतक लाग्ने धार्मिक विश्वास छ । सुतक सुरुभएपछि बालक, वृद्ध र रोगीबाहेकले भोजन गर्न नहुने मान्यता रहिआएको छ । सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९९ घण्टा० अघिदेखि सुतक लाग्छ ।
ग्रहणको समयमा स्नान, दान, जप, ध्यानलगायत कर्म गर्न शुभ हुने बताइन्छ । ग्रहण लागेको समयमा सुत्न, पिसाब गर्न, दिसा गर्न, सिङ्गार पटार गर्न, भोजन गर्न, काटमार गर्न नहुने मान्यता रहिआएको छ ।

