खेलकुद

आयोजकलाई पराजित गर्दै वडा नम्बर २ फाइनलमा प्रवेश

झापा, पुष १३ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर २ विजयी भएको छ ।

अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा आयोजकको तर्फबाट एक शुन्यले पछि परेको अवस्थालाई उल्टाउदै वडा नम्बर २ ले बाजी मारेको हो । यो जित संगै वडा नम्बर २ ले नगद २६ हजार सुरक्षित गरेको छ ।

मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा आईतबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर २ ले आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

विजयी टिमको तर्फबाट यूजेश प्रधान र विशाल राईले एक/एक गोल गरे । आयोजकको तर्फबाट मनकुमार लिम्बुले एक गोल गरे ।

खेलको म्यान अफ दी म्याच आयोजकका मनकुमार लिम्बु घोषित भए । उनलाई वडा खेलकुद समिति मेचीनगर–८ का सल्लाहकार पवनलाल मेचेले ट्रफी प्रदान गरे ।

वडा खेलकुद समिति मेचीनगर–८ को आयोजनामा मेचीनगरका १५ वटा वडा खेलकुद समितिको सहभागीता रहेको प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन पोख्रेलले बताए ।

प्रतियोगिता अन्तर्गत सोमबार हुने अन्तिम सेमीफाईनल खेलमा वडा नम्बर १ र वडा नम्बर १२ बिच दिनको ३ बजे देखि हुने आयोजक समितिका सदस्य रविन ओझाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.