काठमाडौं, पुष २१ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेट भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित भएको जानकारी दिइएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ गएको जानकारी दिइएको छ ।
भेटमा अध्यक्ष दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्यो भनेर छलफल गर्नुभएको हो । सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको मिडिया काउन्सिल लगायतका विवादास्पद विधेयक फिर्ता लिन पनि अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको छ ।

