झापा, माघ ८ । खानेपानी मन्त्री विना मगरले बुधवार ( आज) मेचीनगरका दुई वटा वडामा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको बुधबार उद्घाटन गरेकी छिन् ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर मन्त्री मगरले संघीय सरकारको ८५ प्रतिशत, नगरपालिकाको १५ प्रतिशत लागतमा निर्माण गरिएको मेचीनगर –७ सतिघट्टा र १५ को दुहागढीमा निर्मित प्रशोधन केन्द्रको उद्घाटन गरेकी हुन् ।
खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको मेचीनगर–१५ र ७ मा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोरको प्रशोधन केन्द्र निर्माण गरेको छ । वडा नम्बर १ देखि १३ सम्मको लागि काँकरभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो)व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरेको हो ।
अहिलेको ६५ हजार १९ जनसंख्या अर्थात १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रति दिन १२ घन मिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्रको निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिए । उनले केन्द्रको लागत ६ करोड ७४ लाख रुपैयाँ रहेको समेत बताए ।
सतिघट्टामा रहेको प्रशोधन केन्द्रको सञ्चालन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र दुहागढमा रहेको केन्द्रका चारआली खानेपानी तथा सरसफाई उपभेक्ता समितिले गर्नेछ ।
कार्यक्रममा मन्त्री मगरले जनताको मौलिक हकसंग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताइन् ।
साधारणसभालाई सम्बोधन गर्दै मगरले मौलिक हकलाई कार्यान्वयन गर्न मन्त्रालयले कार्यक्रमहरु अघि बढाइरहेको बताइन् । ‘विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिकलगायतका समस्या समाधान गर्न बल्क प्रणालीमा खानेपानीका केही ठूला आयोजनाहरुको काम अघि बढाउदै छौं, उनले भनिन् –‘वडा, गाउँ र निर्वाचन क्षेत्रलाई मात्रै लक्षित नगरी केही जिल्लाहरु नै समेट्ने गरी आयोजनाको डिपीआर बनाउँदै छौं । ताकि तराईमा खानेपानीको समस्या समाधान होस् ।’
मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि ११ नम्बरसम्म र बुद्धशान्ति गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको समेत निर्माण गरिएको छ । २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसा जन्य लेदो प्रशोधन गर्ने गरि प्रशोधन केन्द्र बनाइएको हो ।
यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी रहेकोे बताईएको छ । बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब रु १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ ।
उक्त कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, राधा थापा, संविधान सभासदस्य रविन कोइराला, उषा गुरुङ, मेचीनगर नगरपालिका प्रमुख विमल अाचार्य, उपप्रमुख मिना उप्रेती, खानेपानीका पूर्व अध्यक्ष सूर्यप्रकाश उप्रेती, नेपाली कांग्रेसका जिल्ला उपसभपाति राम कट्टेल, कांग्रेसका जिल्ला कोषाध्यक्ष केशव पाण्डे, संघीय समाजवादीका धनप्रसाद गुरुङ, राप्रपाका क्षेत्रीय अध्यक्ष रमेश दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष हर्क फ्याकले संस्थाले गरेको बाषिक गतिविधि बारे जानकारी दिएका थिए । उनले २०५० सालदेखि सञ्चालित संस्थामा हाल पाँच हजार ९०० उपभोक्ता रहेको बता । फ्याकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पराजुलीले गरेका थिए ।

