संघ \संस्था

मेचीनगर ५ मा ड्राईभिङ सम्बन्धी तालिम सुरु

झापा, माघ २३ । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले मेचीनगर ५ मा बिहीबारदेखि ड्राईभिङ सम्बन्धी १ महिने तालिम सुरु भएको छ ।

मेचीनगर ५ नम्बर वडा कार्यालयले आयोजना गरेको सो तालिममा वडाका विभिन्न टोल विकास संस्थाबाट ३० जना युवाहरुले सहभागिता जनाएका छन् । सहभागीहरुलाई आरती मोटर ड्राईभिङ सेन्टरका प्रोपाईटर देवेन्द्र कोइरालाले प्रशिक्षण दिनेछन् ।

मेचीनगर वडा नम्बर ५ का ज्येष्ठ वडा सदस्य मेघराज गेलालको सभापतित्व तथा वडा अध्यक्ष योगेन्द्र थापा मगरको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि थापाले वडाले बेरोजगार समस्या न्यूनीकरण गर्न समय–समयमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए । समाजमा बेरोजगारी समस्या अन्त्य गर्ने वडाको लक्ष्य रहेको बताउँदै प्रमुख अतिथि थापाले सीपमूलक तालिमले स्वरोगजार तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । उनले भने–‘सीप सिकेपछि दक्ष युवाहरुले रोजगार समेत पाउने छन्, वैदेशीक रोजगारीका लागि पनि तालिम महत्वपूर्ण हुन्छ ।’

उक्त कार्यक्रममा वडा सदस्य नारायण खड्का, दुर्गा आचार्य, सीताराम मन्दिर टोल विकास संस्थाका अध्यक्ष सुरेश ढकाल, प्रशिक्षक कोइरालालगायतले बोलेका थिए । वडाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ड्राईभिङ तालिमका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको थियो ।

वडा सदस्य चन्द्रकुमारी वि.कले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन वडा कार्यालयका सचिव यशु लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.