झापा, फागुन १४ । बेलायतको गोर्खा मेमोरियल फन्डले मेचीनगरका सबै सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।फन्डका अध्यक्ष धनकिरण गुरुङले बुधवार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन् ।
उनले मेचीनगरका प्राथमिक तहभन्दा माथिका सबै सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने र त्यसका लागि फन्डले लगानी गर्ने बताए । फन्डका अध्यक्ष गुरुङ मेचीनगर घर भएका बेलायती नागरिक हुन् । उनी बेलायती सेनाको जागिरबाट निवृत्त भएपश्चात उतैको राजनीतिमा सक्रिय छन् । बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर गुरुङकै पहलमा फोक्सटनसँग मेचीनगर नगरपालिकाको मितेरी सम्बन्ध कायम भइसकेको छ ।
विगतदेखि नै मेचीनगरको विकासमा सहयोग पुर्याउँदै आएको बेलायतको दातृ संस्था गोर्खा मेमोरियल फन्डले काँकरभिट्टामा माध्यमिक विद्यालयलाई कम्प्युटर शिक्षाका लागि नमुना बनाउन कम्प्युटर ल्याव स्थापना गरिदिएको छ भने धनकुटा र रोल्पामा समेत त्यस्तै सहयोग दिदै आएको छ ।
‘विगतमा हामीले विभिन्न जिल्लामा सहयोग पुर्यायौं,’ फन्डका अध्यक्ष गुरुङले भने–‘अब हाम्रा सहयोग मेचीनगरको शिक्षामा केन्द्रित हुनेछ । ’उनले सन् २०२२ देखि स्मार्ट एजुकेसनका लागि फन्डले सहयोग सुरु गर्ने र मेचीनगरलाई सूचना प्रविधि शिक्षाका लागि देशकै नमुना बनाउने बताए । गुरुङ विहीवार बेलायती फिर्तीका लागि मेचीनगरबाट प्रस्थान गर्दैछन् ।

