झापा, फागुन १६ । मेचीनगर २ स्थित बौद्धमोडमा रहेको ओसियनिक निर्वाणा ईङ्लीस स्कुलले विविध कार्यक्रम गरी आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमप्रसाद अधिकारीले गरेका थिए ।
विद्यालयले बार्षिक उत्सवको अवसर पारेर शुक्रवार सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण पनि गरेको थियो । गत फागुन १३ र १४ गते भएको विभिन्न खेलकुद प्रतियोगितामा विजेता भएका विद्याथीहरुलाई पुरस्कृत गरीएको थियो । साथै विद्यालयले बार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्रिहरुलाई सम्मान समेत गरेको छ । सम्मान हुनेहरुमा उत्कृष्ट अभिभावकतर्फ कमला तामाङ, उत्कृष्ट शिक्षकतर्फ प्रमिला प्रधान, उत्कृष्ट विद्यार्थीतर्फ रेजिना राई रहेका छन् ।
उद्घाटन सत्रमा प्रमुख अतिथि अधिकारी, विशेष अतिथि प्याप्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, भृकुटी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष दिपक बरालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कमल गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, अभिभावकलगायत विद्याथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेम सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समिति सदस्य केवल निरौला र सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

