नरेन इलामेली
इलाम, फागुन १७ । झापा ११ लाई पराजित गर्दै एमएफसी दार्जिलिङ्ग इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा ११ लाई २—१ गोल अन्तरले पराजित गर्दै एमएफसी दार्जिलिङ्ग प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।
दार्जिलिङ्गको जितका खेलको २३ औँ र ४८ औ मिनेटमा पिनसाई लाथोङले दुई गोल गर्दा झापाका तर्फबाट सरोज कार्कीले खेलको ८४ औँ मिनेटमा एकमात्र सान्तवना गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच एमफसी दार्जिलिङ्गका पिनसाई लाथोङ घोषित हुँदै नगद १० हजार रुपैँया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब काठमाण्डौ र संकटा क्लब काडमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ ।
पूर्वी पहाड कै सर्वाधिक धन राशी भएको यस प्रतियोगितामा भारतीय टीमहरु नागाल्याणको कोहिमा इगल फूटबल क्लब, दार्जिलिङ्गको एमएफसी, सिक्किमको ग्यान्टोक सिटी फूटबल क्लब, कोलकत्ताको मोहम्मडन स्पोर्टिङ्ग क्लब सहित नेपाली टीमहरु रुपन्देहीको गोर्खा ब्वाइज फूटबल क्लब, काठमाण्डौको मच्छिन्द्र क्ल्ब, त्रिभूवन आर्मी क्ल्ब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, झापाको झापा ११ र आयोजक इलामको माइभ्याली फूटबल क्लबको सहभागिता रहको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी २४ फागुनमा हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तेै हरेक खेलको म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेण्टलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

