खेलकुद

बर्मेलीले कराते प्रतियोगिता गर्ने

झापा, फागुन १८ । बर्मेली कराते डोजोले प्रथम झापा जिल्लास्तरीय अण्डर–१८ जुनियर खुल्ला कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक डोजोले आइतबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी आउँदो शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको हो ।

उक्त डोजोको तेस्रो स्थापना दिवशको सन्दर्भ पारेर तुर्केनी खेलमैदानमा प्रतियोगिता गर्ने निर्णय भएको आयोजक डोजोका अध्यक्ष अभिषेक दवाडीले बताए । उनका अनुसार जिल्ला कराते टेक्निकल कमिटीको सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत र भुटानका करिब ५ सय खेलाडी सहभागी हुनेछन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित सञ्चालन गर्न लागिएको प्रतियोगितामा सहभागी खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । सम्मेलनमा आयोजक डोजोका सचिव अभिजित दवाडीले प्रतियोगितामा विभिन्न शीर्षकमा गरी करिब २ लाख ५० हजार रुपैयाँ खर्च पूर्वानुमान गरिएको बताए ।

नगर तथा वडा कार्यालय, विभिन्न संघसंस्था, मनकारी व्यक्तित्व, समाजसेवी, खेलप्रेमीलगायतसँग समन्वय गरी आर्थिक सहयोग जुटाइने आयोजकको भनाई छ । ‘सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा घोषणा गरेको छ’ डोजोका अध्यक्ष दवाडीले भने–‘खेलमार्फत पर्यटन प्रवद्र्धन गरी सरकारी लक्ष्य पूरा गर्न हातेमालो गर्ने हाम्रो उद्देश्य हो’
सम्मेलनमा आयोजक डोजोका कोषाध्यक्ष सुमन प्रधान(बिट्टु), कार्यक्रम संयोजक विपिन सिटौला(प्रदीप)लगायतको उपस्थिति थियो ।
सो प्रतियोगिताको उद्घाटन संघीय सांसद् राम कार्कीले गर्ने सम्मेलनमा बताइयो ।

Leave a Reply

Your email address will not be published.