नरेन इलामेली
इलाम, फागुन २२ । त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई पराजित गर्दै आयोजक माइभ्याली फूटबल क्लब इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न दाश्रो तथा अन्तिम सेमीफाइनल खेलमा त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दैै आयोजक माइभ्याली फूटबल क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
९० मिनेटको निर्धारित समयमा १-१ गोलको बराबरी भए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । २० मिनेटको अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिए पछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।
खेलको म्यान अफ दी म्याच आयोजक माइभ्यालीका गोलकिपर देव लिम्बू घोषित भए । उनले नगद १५ हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिताको उपाधिका लागि आगामी शनिबार आयोजक माइभ्याली फूटबल क्लब इलाम र मच्छिन्द्र क्लब काठमाण्डौ बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

