काठमाडौं, फागुन २३ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण हुने भएको छ । दुई पार्टीका शीर्ष नेताहरु बिच लामो छलफल पछि फागुन महिना भित्रै एकीकरण गर्ने तयारीमा दुवै पार्टीका नेताहरु लागि परेका छन् । विभिन्न समयमा फुट्दै र जु्ट्दै अाएका दुई राप्रपाले पुन एकीकरण गर्ने सहमति गरेका हुन् ।
एकीकृत पार्टीको नाम भने राप्रपा नै हुने बताइएको छ । पार्टीको झण्डा भने अहिले राप्रपाको नै राख्ने सहमति भएको छ । चुनाव चिन्ह गाई कि हलो भन्नेमा एकता महाधिवेशन अघि पार्टीको उच्चस्तरीय निकायले टुंगो लगाउने छ ।
एकीकृत पार्टीमा तीनजना अध्यक्ष रहने सहमति भएको छ । जसमा कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी हुनेछन् ।
पार्टी एकताको अवधारणामा लगभग सहमति भइसकेको छ । ‘पार्टीको शीर्ष तहमा छलफल भएर एकताको अन्तिम चरणमा छ’– राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । दुई पार्टी एकीकरणको मोडलमा समेत सहमति भइसकेको छ । पार्टीका सबै निकायमा ५५ र ४५ को अनुपात लागू गरिएको छ ।
कमल थापा नेतृत्वको राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिदेखि तल्ला कमिटीहरुसम्म ५५ प्रतिशत लिने छ भने राणा नेतृत्वको राप्रपाले ४५ प्रतिशत पाउने छ । एकीकरणको अन्तिम निर्णय गर्न राप्रपा संयुक्तको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक फागुन २९ गते बस्दै छ ।

