पोखरा, फागुन २६ । रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा पाहुना टोली गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो ।
थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक राईले एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्री स्टारले तीन गोल गर्यो ।
खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा सुशनले दुई गोल गर्दै थ्री स्टारलाई ३-० को जित दिलाए । उनको इन्जुरी समयको दोस्रो र तेस्रो मिनेटमा गोल गरेका थिए ।
अब थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

