झापा,
सम्माननिय प्रधानमन्त्री ज्यू,
नमस्कार, तथा कमरेड अध्यक्ष लाल सलाम!!!
खास नलेखी नहुने त केहि थिएन तर बिश्वसंकटको यो घडीमा आएका बिभिन्न खबरले, कम्युनिस्ट कार्यकर्ताको नाताले सभ्य भाषामा नेतृत्वको आलोचना गर्न पाउने कम्युनिस्ट नियम अनुसार खबरदारी गर्ने प्रयत्न गर्दैछु। कमरेड, हिजो अस्तीको तेत्रो ठुलो शल्यक्रिया गरेर तङ्ग्रीनसकेको रोगी शरिर भ्रष्टलाई जोगाउन मात्र घिसारीरहनु पर्ने अवस्था किन आउछ तपाईलाई??
यो गम्भिर प्रश्न हिजो आज जो कोहि जनताको हो। अब यसलाई सम्बोधन गर्न ढिलो भएन र? कोरोनाको यस संकटपूर्ण अवस्थामा एउटा कुरामा चै सरकारलाई धन्यवाद दिनै पर्छ कि हामी जस्ता सचेत कार्यकर्तालाई तपाईहरुको काण्डै काण्डले गर्दा अन्य पार्टीका छिमेकीले प्रश्न गर्दा अनुत्तरित हुन बाध्य हुनुपर्ने भएकाले चै हामी घरभित्रै छौ।त्यसको लागी म मात्र होइन मेरो परिवारकै तर्फबाट धन्यवाद। सम्माननिय प्रमज्यू “संकटमा हतार, अन्त्यमा सोतर” भनेजस्तो गरी आएको चाइनिज स्वास्थ्य सामाग्रीमा ताल त तुइका हरुसंग सम्झौता गर्ने कुरामा यहाको प्रत्यक्ष संलग्नता छ? या यहाँलाई भुङ्ग्रोमा हाले?
भुङ्ग्रोमै हालेको भए त्यस्तालाई तु कार्बाही गर्नु अहिले प्रमुख कर्तब्य हो। पूर्व एमालेका मन्त्रीहरु मात्र काण्डमा फसिरहेको यो अवस्थामा पार्टीभित्रकै प्रतिपक्षी पनि खास प्रतिपक्षी भन्दा कठोर भईरहदा अनि अरु अनेक कुराले तनाव र दवाब दुबैमा हुनुहुन्छ होला, तर हामी धेरै कार्यकर्ता पार्टीभित्रको अनेक खिचातानी रवैयाको कारण बाउ बहुलाए, उपचार गर्ने हो फेर्ने होइन भन्ने सोचले मात्र तपाई सहितको अध्यक्षतामा रहेको पार्टीको लेबीदाताको रुपमा अडिरहेको छौ। गएको चुनावमा तपाईहरुले जितीरहदा रंगभेद बिरुद्द २७ बर्षे जेल जिवन बिताएर अफ्रिकामा कालालाई पनि समान अधिकार दिलाउन सफल महान नेता नेल्सन मण्डेलाको रुपमा सबैले हेरेका थिए किनकी तपाई पनि झापा किसान आन्दोलनमा होमिदा डेढ दसक जेल जिवन बिताएको मान्छे हुनुहुन्थ्यो। तर आज तिनै आन्दोलनका यहाँका केहि सहयोद्दाहरु हातमूख जोड्न नसकेको अवस्थामा हुदा तपाई बेखबर जस्तै हुनुहुन्छ। कमरेड, कम्युनिस्ट राजनिती पैसामुखी हुदा हिजो टिकट पनि मोटामोटी रुपमा त्यागी भन्दा प्यागीलाई दिएको कारणले पनि त्यतिबेलाको खर्च उठाउन आज बढी भ्रष्टाचार भएको यथार्थ हामी माझ हुदा अब हामी कम्युनिस्टको गन्तब्य के “वाद” हो? भनेर प्रश्न गर्ने बेला भएन र कार्यकर्ताले।
जे जस्तो भए पनि प्रतिकूल स्वास्थ्य अवस्थामा हुदा पनि यहाँले देसप्रती गर्नुभएको योगदान सुनौलो अक्षरले लेखिए पनि कालोबजारी, भ्रष्टाचार, कमिसनको नाम पनि संगै लेखिन्छ कि भन्ने पिर मात्र हो हामी कार्यकर्ताको। अब यो उमेर र अवस्थामा अहिले सम्म गरेका राम्रा कामहरुको पनि मूल्याङ्कन घटाएर एउटा समुहको मात्र नेता बन्ने कि राजनेता बन्ने तपाइकै निर्णय क्षमतामा भर पर्ने कुरो हो। यतिबेला तपाइकी मृगौलादाता समिक्षा संग्रौलाको भनाई सम्झना आउछ”ओलीको लागी होइन,भोलीको लागी मृगौला दान गरेकी हु”। कृपया उनको सम्मानको लागी भए पनि अहिलेका बिभिन्न काण्डका नाइकेलाई कार्बाही गर्नुहोला।
अन्त्यमा जिवन र देसको यो कठिन घडीमा हाम्रो भाग्य र भविस्य तपाइकै हातमा रहेको झिनो आशा सम्झाउदै तपाइकै प्रयत्नमा देसले मुहार फेरोस…स्वस्थ जिवनको शुभकामना कमरेड।
उहि
भिष्मराज पौडेल
संगठित सदस्य, झापा
मिती ०७६/१२/२१

