अर्थ

सहाराले दिन थाल्यो सदस्यलाई बिना ब्याज पाँच हजार सापटी

झापा, चैत २२ । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले लकडाउनका बेला आपतविपतमा परेका विपन्न वर्गका आफ्ना सदस्यहरुलाई दुई महिनाका लागि पाँच हजार रुपैयाँ सापटी दिने भएको छ ।

संस्थाले चैत २१ गते देखि नै लागु हुने गरी संस्थाको सदस्य र संस्थाद्वारा सञ्चालित लघुवित्त परियोजनामा आवद्ध विपन्न परिवारलाई बिना ब्याज सापटी दिने ब्यवस्था मिलाईएको संस्थाका बरिष्ट प्रबन्धक राम नारायण प्रधानले बताए । अहिलेको बिसम परिस्थितिमा अफ्ठ्यारोमा परेका आफ्ना सदस्यलाई सहज होस भन्नका लागि यस्तो ब्यवस्था गरेको उनले बताए ।

सहारा नेपालमा हाल १ लाख ४७ हजार सदस्य रहेका छन् । कम्तीमा १५ हजार सदस्य विपन्न परिवारको भएको पूर्वानुमान गर्दै सापटी दिनका लागि ७ करोड रुपैयाँ छुट्याइएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।

सहाराले नेपाल सरकारदेखि प्रदेश र स्थानीय तहसम्मको सबै कोरोना विपत कोषमा रकम दिने भएको छ ।

सहाराले केन्द्रीय कोषमा ५ लाख दिने भएको छ भने प्रदेश नं.१ सरकारले सञ्चालन गर्ने क्वारेन्टाइनका लागि एक महिनासम्म लाग्ने सम्पूर्ण खाद्यान्न सहयोग गर्ने भएको छ ।

झापाका सबै स्थानीय तह, प्रदेश र केन्द्रको विपत कोषमा जम्मा गर्न सहाराले ५० लाख रुपैयाँ छुट्याएको छ । भूटानी शरणार्थी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत सहाराले खाद्यान्न तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित उपकरण सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published.