समाचार

थप तीन जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं, चैत २२ । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् ।  मन्त्रालय स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् । यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो । ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो । पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो । आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ  । २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ । क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो । 

त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो । उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए । नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो । तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ । कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनकी भाउजुलाई पनि कोरोना संक्रमण भएको हो । दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ , स्रोतले भन्यो, यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ । मार्च १९ मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । कैलाली, कञ्‍चनपुरका तीनैजनामा परीक्षण गर्दा शुक्रबार राति संक्रमणको पुष्टि भएको हो  । 

यसबाट विदेशबाट आएका व्यक्तिले कोरोना यहीँका परिवारजनमासमेत संक्रमण गराएको पुष्टि गरेको छ । परीक्षण गर्न गएकाहरुमा पोजेटिभ रिपोर्ट देखिए पनि अझै कयौँले परीक्षण गराउनै मानेका छैनन् । विश्‍व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ । अहिलेसम्म नेपाल सरकारले कोरोना विदेशबाट आएकाबाट समुदायमा नसरेको जनाउँदै आएको थियो । 

तर धनगढीको भेटिएको यो केस व्यक्तिबाट समुदायमा पुगेको पुष्टि भएको हो। इटालीमा पनि यसैगरी कोरोना व्यक्तिबाट समुदायमा फैलिएपछि महामारीको रुप लिएको थियो । अहिलेसम्म नेपालमा फ्रान्स, बेल्जियम, दुबईबाट आएकामा कोरोना देखिएको थियो । यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो । यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन् । उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन ।  उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन् । 

योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो ।  त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका उनै ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो । उनको अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।  कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए । दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन् ।  सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन् । 

त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ । चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन २५ चैत सम्मका म्याद थप गरिएको छ ।

Leave a Reply

Your email address will not be published.