काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए ।
यस्तै माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने र पार्टीमा तीन अध्यक्ष राख्ने प्रधानमन्त्रीको प्रस्ताव रहेको एक सचिवालय सदस्यले बताए । नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । सचिवालयको अर्को बैठक भने २० गते बस्ने भएको छ ।

