इलाम, बैशाख २३ । विश्व किरात महासंघ नेपाल र किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको सोमबार निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको हिजो साँझ ८ वजे इलामको चुलाचुली १, कमल स्थित आफनै निवासमा निधन भएको हो ।

झापाको विर्तामोडमा अवस्थित विर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । तुम्बापोको पक्षघातसहित मुटु, नसा, निमोनिया लगायतका रोगले समेत पछिल्ला समय संक्रमण बनाएको थियो ।
वि.सं.२००१ साल मंसिर १० गते बुबा काशिहाङ र आमा कौशिलाको कान्छा सुपुत्रको रुपमा पान्थरको फिदिम नगरपालिकाको चोकमागुमा जन्मिएका किरात धर्म गुरु तुम्बापो इलामको चुलाचुलीमा बस्दै आएका थिए ।
महागुरु फल्गुनन्दको सद्मार्गलाई पछयाउदै आएका उनी विभिन्न मुन्धुमहरु मध्ये चम्जिक मुन्धुमका प्रखर मानिन्थे । गत वर्ष श्रीमती गुमाएका किरात धर्म गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोका १ छोरा १ छोरी रहेका छन् ।

किरात धर्मगुरु तुम्बापोले किरात धर्म, संस्कृति, संस्कार, भाषा लिपि संरक्षण, विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएको फल्गुनन्द बहुभाषिक पाठशालाका सचिब पुर्ण चेम्जोङले बताउनुभयो।
उहाँको पार्थिव शरिरलाइ आजै हात्तीलेदा मांङहिम साथै फल्गुनन्द बहुभाषिक पाठशाला परिसरको शवयात्रा पश्चात् आफ्नै जमिनमा अन्त्यष्टी गरिएको बहुभाषिक पाठशालाका अध्यक्ष डम्मरकुमार तुम्बापोले जानकारी दिनुभयो ।

