काठमाडौं, जेठ १० । नेपालमा पछिल्लो पटक झापामा १ सहित थप ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।
बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। देवकोटाले जानकारी दिए।
डा. देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका चार जनामा कोरोना पोजेटिभ देखिएको छ। झापाको डिल्लीराज मावि क्वारेन्टिनमा रहेका एक जना ३३ वर्षका पुरूषमा पनि कोरोना पुष्टि भएको छ।
बाँकेको नरैनापुर गाउँपालिकामा सबै भन्दा बढी २७ जना कोरोना पोजिटिभ देखिएको र बर्दिया बढैयाताल ७ का एक १९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए। यस्तै कर्णाली प्रदेशको सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

