

रजतपटमा एकाध बाहेकका फिल्महरु चल्न सकिरहेका छैनन् । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि विक्दैन’ भन्ने त नेपाली उखान नै छ । करोडौँ लगानि गरेर बनाए पछि फिल्महरुको प्रचार–प्रसार त गर्नु नै पर्यो । फिल्मका बारेमा दर्शक सम्म सुुचना पुगेन भने दर्शक हलसम्म आकर्षित नहुन पनि सक्छन् । फिल्मको पब्लिसिटी गर्ने तरिकामा प्रविधिमा परिवर्तन आएसँगै पविर्तन आएको छ । सामाजिक सञ्जालमा फिल्मका सामग्रीहरुको बुस्ट गर्ने देखि अनेकन उपायहरु अपनाउने गरिन्छ । राजमार्गका आसपासका होडिङबोर्ड छुट्ने कुरै भएन । फिल्म रिलिजको समयमा शहर बजारका भित्ताहरु रंगिने गर्छन फिल्मका पोष्टरहरुले । कतिपय फिल्महरुलाई भित्ताका पोष्टर हट्नु अघि नै हलबाट उत्रनु सामान्य जस्तै भैसकेको छ ।
टेलिसिरियल पनि फिल्म पब्लिसिटीको दरिलो माध्यम बनेको छ । छक्का पञ्जा सिरिज हिट भैरहँदा रजतपटको सर्वाधिक सफल फिल्म ‘छक्का पञ्जा–३’ का मुख्य कलाकार तथा लेखक दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला कमेडी हाँस्य श्रृंखला ‘भद्रगोल’को १७९ भागमा पुगेर अभिनयसमेत गरेका थिए । टीआरपी उच्च भएका टेलिभिजन शोमा प्रदर्शनको मुखैमा पब्लिसिटीको उपयुक्त माध्यमनै बनेको छ । अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ को मुभि पाटर्नरको रुपमा फिल्म ‘प्रसाद’ रहेको थियो । ‘प्रसाद’ बाहेकका ‘चङ्गा चेट’, ‘जय भोले’, ‘छक्का पञ्जा’ लगायतका पिल्मका कलारकारहरु आइडलको मञ्चमा पुगेर आफ्नो फिल्मको प्रचार–प्रसार गरे । फिल्म ‘चौका दाउ’बारे आइडलमा अतिथीका रुपमा पुगेका सम्भुजित बाँस्कोटाले आफ्नो फिल्मको प्रचार–प्रसार गरे ।
अर्को कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा फिल्म रिलिजको छेको पारेर फिल्मकर्मी अतिथि बनेको कुरा त नौलो रहेन । उक्त कार्यक्रमको १३ औं श्रृंखलामा मनोज गजुरलेसँगै चलचित्र ‘सय कडा दश’ चलचित्रका अन्य मुख्य कलाकार पनि अतिथीका रुपमा बोलाइएका थिए । शोमा घरभेटी अंकलको भुमिकामा नियमित रुपमा देखिने कार्यकारी निर्माता राजाराम पौडेल उक्त श्रृंखलामा अतिथीको रुपमा प्रस्तुत भए । यसअघि उक्त शोमा फिल्म सुश्री सम्पतिका कलाकारहरु सलोन वस्नेत, सारा सिर्पाली तथा विनोद न्यौपाने पनि अतिथिको रुपमा पुगेका थिए । विभिन्न खाले सञ्चारमाध्यमका नियमित कार्यक्रमहरु त पब्लिसिटीको सदावहार माध्यम भइहाले । फिल्मी युनिटले आफ्नो प्रचार–प्रसारको लागि सम्पूर्ण शक्ति प्रयोग गरेपनि चलचित्रको व्यापार भने ओरालो लाग्ने क्रम रोकिएको छैन । एकाध फिल्मलाई छोड्ने हो भने अधिकांश फिल्म घाटामा गइरहेका छन् । औषतमा डेढ करोडमा लगानी भइरहेका फिल्मले पोस्टर प्रिन्ट गरेको र टाँसेको पैसा समेत उठाउन सकिरहेका छैनन् । अझ पुष–माघको ठण्डीमा फिल्मको व्यापार त ठण्डाराम नै भएको छ । गत हप्ता रिलिजमा आएको तीन फिल्म गोपी, रणवीर र सय कडा दश पूर्ण रुपमा असफल भएको छ । अहिले प्रदर्शन भईरहेको फिल्म समर लभलाई मौसमले च्यालेन्ज गरेपछि सुख्खाराम भन्न बाध्य भए फिल्मका युनिट ।
पब्लिसिटीमा खरो रुपमा उत्रेको अर्को फिल्म हो ‘बुलबुल’ । खस्किदो व्यापारबीच प्रदर्शनमा आएको फिल्मले कारोबारमा सुधार ल्याउने अपेक्षा थियो । फिल्मले प्रयोग गरेको मौलिक शब्द र कथावस्तुले युवापुस्तालाई आकर्षित बनाउन सक्ने अनमाुन थियो । तर, फिल्मले अपेक्षा अनुसारको दर्शक हलसम्म तान्न सकेन । यस किसीमले के थाहा हुन्छ भने दर्शक लक्षित प्रचार प्रसारलाई कम गरेको तर अनावश्यक प्रचारमा निर्माताहरु लगेको देखिन्छ ।
