
एजेन्सी — उमेर बढ्दै जाँदा तथा डिप्रेसनका कारण घटेको स्मरणशक्तिलाई फर्काउन सक्ने औषधि बनाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । क्यानडाको टोरन्टोस्थित एडिक्सन यान्ड मेन्टल हेल्थ सेन्टरले यो औषधि तयार पारेको हो । वैज्ञानिकहरूले यसको परीक्षण बूढा हुँदै गएका मुसामा गरेका थिए । परीक्षणमा उनीहरूको स्मरणशक्ति बढेको देखियो ।
मान्छेमा यसको परीक्षण छिट्टै गरिनेछ । वाशिङटनमा भएको अमेरिकन एसोसिएसन फर दी एड्भान्स्मेन्ट अफ साइन्सको बैठकमा यसको जानकारी दिइएको हो ।
प्रमुख अनुसन्धानकर्ता डा एटीन सिबलीका अनुसार, अहिलेसम्म डिप्रेसन र मानसिक कमजोरीका कारण घटेको स्मरणशक्ति फर्काउने कुनै औषधि छैन । नयाँ औषधि बेन्जोडायजेफीन ड्रगको एक प्रकार हो । भेलियमलाई डिप्रेसनको औषधिका रूपमा प्रयोग गरिन्छ र वैज्ञानिकहरूले यही भेलियमलाई थप राम्रो बनाएर औषधिको रूप दिएका हुन् ।
नयाँ औषधिका रसायनहरूले स्मरणशक्ति घटाउने मस्तिष्कका कमजोर कोशिकाहरूलाई चिनेर उपचार गरिनेछ । डा. एटीनका अनुसार, ५५ देखि ६० वर्षको उमेरमा मानिसहरू ससाना कुरा भुल्न थाल्छन् र उनीहरूका लागि औषधिले फाइदा दिन्छ । दिनदिनै एउटा ट्याब्लेट लिनुपर्ने हुन्छ ।

