समाचार

अझै शहीद घोषणा भएनन् झापा विद्रोहका राम प्रधान

झापा/ झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन ।

सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले शहीद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई शहीदको सूचीमा नाम समावेश गर्न छुटेको थियो । तत्कालीन नेकपा एमाले झापाका अध्यक्ष एवं शहीद राम प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष चिन्तन पाठकले उहाँलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिएको र चाँडै प्रक्रिया पुर्याएर शहीद घोषणा गरिने आश्वासन पाएको बताउनु भयो ।

प्रधानलाई इलामको शान्तिपुरमा एक घरको कोठाभित्र आश्रय लिएर सुतेको अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइरोले घोचीघोची हत्या गरेका थिए । प्रधानलाई हत्या गरिएको सेल्टरबाट गिरफ्तार गरिएका अर्का योद्धा सानो दुर्गा अधिकारीलाई १७ वर्ष जेलमा राखिएको थियो । झापा विद्रोहका नेता मोहनचन्द्र अधिकारी सबैभन्दा बढी १८ वर्ष जेल बस्नुभएको थियो । नरेश खरेल, राधाकृष्ण मैनाली, सीपी मैनाली, भीष्म धिमाल, मङ्गलमणि सतार, अम्बर कार्कीलगायत नेताले १६ वर्षभन्दा बढी जेल यातना भोग्नु भएको थियो । रासस

Leave a Reply

Your email address will not be published.