खेलकुद

मेची नेत्रालय माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश

इलाम / मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । काँकडभिट्टाले बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

अन्तिम क्वाटरफाईनलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पराजित बन्यो । खेलको ५७ औ मिनेटमा आर्मीले अग्रता कायम गरेको थियो । जितेन्द्र कार्कीले ३० यार्ड वक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर जाली चुमेपछि आर्मीले अग्रता बनाएको हो ।

८५ औ मिनेटमा योगेश गुरुङको फ्रिकिकमा विकाश थुलुङ राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।

टाइव्रेकरमा झापाका विक्रम लिम्बु, योगेश गुरुङ, मिलन राई र विशाल राईले गोल गरे भने भिक्टर एमोवीको प्रहार गोलरक्षक विवश चौधरीले रोकेका थिए ।

आर्मीका रुपेश क्षेत्री, विकास तामाङ र दिपकुमार लामाको प्रहारले जाली चुम्दा युद्ध शाही र विवेक बस्नेतको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए ।
खेलमा झापाका गोलरक्षक दिनेश थापा मगर म्यान अफ द म्याच घोषीत भए । उनले नगद १० हजार प्राप्त गरे ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहेको माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.