समाचार

चिकित्सकको लापरवाहिका कारण बालकको ज्यान गयो

झापा, चैत ११ । मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल धुलाबारीमा सोमबार बिहान एक बालकको ज्यान गएको छ । सामान्य वान्ता आएपछि उपचारका लागि आइतबार बिहान अस्पताल भर्ना भएका मेचीनगर–९ खुट्टिडाँगीका १० वर्षीय गोपाल रिजालको उपचारको क्रममा अस्पतालमा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको परिवारले आरोप लगाएका छन्

उपचारमा संलग्न डाक्टरले उपचारमा ध्यान नदिई लारपरवाही गरेको तथा आवश्यक भन्दा धेरै औषधि र सुईलगाएको कारण आफूले जिन्दगीको साहारा एक्लो छोरा गुमाउनु परेको मृतकको बुबा नकुल रिजालले बताए । बालकको शरीरमा पानीको मात्र कम भएका कारण आवश्यक अनुसार औषधि उपचार गरेको तर पनि बालकको ज्यान गएको उपचारमा संलग्न डाक्टरले बताए ।

अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै पीडित परिवार र स्थानीयले अस्पताल घेराउ गर्नुका साथै अस्पताल परिसरमा शव राखेर नारावाजी गरेका थिए । आक्रोशित स्थानीयको भीँड नियन्त्रण गर्न अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
स्थिति नियन्त्रणमा आउन नसकेपछि पीडित पक्षलाई न्याय दिलाउन सर्वपक्षीय बैठक बसी उपचारमा संलग्न डाक्टर तत्काल निलम्बन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने तथा पीडित परिवारलाई तत्काल किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमती भएको थियो । अनुसन्धान पछि थप क्षतीपुर्ती उपलब्ध गराउन पहल गर्ने सहमति भएको छानवीन समितिका संयोजक ऋषिराज तिम्सिनाले जानकारी दिए ।

भेलामा मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्का, १० का वडा अध्यक्ष सुदय पनेरु, राजनीतिक दलका तर्फबाट प्रकाश भण्डारी, पीडित परिवारको तर्फबाट चन्द्रमणि पौडेल, उमेश आचार्यलगायतको उपस्थिति थियो ।
मृतक बालकको सोमबार धुलाबारीस्थित राम घाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published.