विविध

खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण

शाक्यमणी आचार्य
झापा, बैशाख २४ ।
अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक एक कार्यक्रमका बिच मंगलबार अनावरण गरिएको छ ।

महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको शालिक शालिकको किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रा हाङमा लिङदेनले संयुक्त रुपमा अनावरण गरेका हुन ।

झापा सितापुरीका मूर्तिकार भक्त राईले एउटै ढुंगाबाट तयार पारेको उक्त शालिक ६ फिट गोलाइ र १५ फिट उचाइ रहेको छ । मूर्तिको तौल ६ क्वीन्टल रहेको छ । मूर्ति निर्माणका लागि अर्जुनधारा नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको थियो । खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको अनावरणपछि उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामाकरण गरिएको छ ।

धर्मगुरु लिङदेनबाट आर्शीवाचन प्रस्तुत भएको कार्यक्रममा पूर्व मन्त्री एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य देउमान थेवेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अनावरण कार्यक्रममा झापा, इलाम, पाँचथरलगायतका किरात धर्मावलम्वीहरुको सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष महेन्द्र आङदेम्बेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत सदस्य विजेन्द्र एक्तेन र कार्यक्रम सञ्चालन भगिहाङ नेम्वाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.