
पाँचथर, जेष्ठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । गए राति मिक्लाजुङ गाउँपालिका ३ को आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको हो ।
स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको हत्या गरिएका स्थानिय ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको थियो । त्यस पछि इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगिसकेको छ । खबरहब

