
छोडेर आमाको शितल छहारी, परदेश गएथे ।
धितोमा राखेर आफ्नै घरबारी, परदेश गएथे ।
मन त थियो मेरोपनि परिवार सङ्गै रमाउन ।
तर बाध्यताले नै दैलो उघारी, परदेश गएथे ।
उज्ज्वल भविस्य बनाउने अनेंक सपना देखी ।
बोकेर काँधमा कर्तव्यको भारी, परदेश गएथे ।
चुहिँने थियो छानो प्वालै प्वाल परेको भित्तो ।
कसरी टाल्नु भएर बेरोजगारी,परदेश गएथे ।
ढुब्न लागेको घाँम झै बुबा(आमा छोड्नु पर्दा ।
आँखाबाट आँसुको भेल झारी, परदेश गएथे ।
सकिन्न रहेछ आफ्नै देशमा गुजारा चलाउन ।
कमाउँला भन्दै रियल कतारी, परदेश गएथे ।
धन कमाई छिट्टै फर्किन्छु आश्वासन देखाई ।
मरुभूमिको सात समुन्द्र पारी, परदेश गएथे ।
सानो थियो खेतीपाती,अर्मपर्मले पुगेन हजुर ।
गर्छु भनेर अरबीको बफदारी, परदेश गएथे ।
निरोज बस्नेत (संकल्प) मेचीनगर– ५

