झापा, अषाढ ४ । मेचीनगर १ स्थित गाडागल्लीमा जिल्लास्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।
गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङले गरेका छन् ।
स्थानीय कृष्ण आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालित उक्त प्रतियोगितालाई मेचीनगर १ नम्बर वडा कार्यालयले प्रायोजन गरेको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा मेचीनगर १ का वडा सदस्य सिता विश्वकर्मा, खेलकुमारी कार्की, २ नम्बर वडा सदस्य रामकुमार राई, सुरेश घिमिरे, कुस्ती संघका जिल्ला सचिव धर्मानन्द पौडेललगायतको आतिथ्यता थियो ।
आयोजक संस्थाका अध्यक्ष पूर्णबहादूर देवानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत सदस्य तिलजा देवान र सञ्चालन १ नम्बर वडा सदस्य डिकेन्द्र थापाले गरेका थिए ।
यसैबीच, उक्त प्रतियोगिताको बुधबार भएको उद्घाटन खेलमा आयोजक गाडागल्लीले ७–२ गोल अन्तरले खुट्टिडाँगी युवा क्लवलाई पराजित गरेको छ ।
विजयी टिमका तर्फबाट पुजन उपरकोटी र पुजन राईले ह्याट्रिक गरे भने युवराज मगरले १ गोल गरे । पराजित टिमका तर्फबाट विशाल दर्जी र रविन लिम्बूले समान १÷१ गोल गरेका थिए ।
बिहीबार हुने दोस्रो दिनको खेलमा केके एफसी झापा र जे एफसी इलामबीच खेल हुने आयोजक संस्थाका अध्यक्ष पूर्णबहादूर देवानले जानकारी दिए ।
आयोजक संस्थाका सचिव दीपेन्द्र दाहालका अनुसार प्रतियोगिताको विजेता टिमले नगदराशी ३१ हजार तथा उपविजेता टिमले २१ हजार रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाण पत्र पाउने छन् ।
जिल्लाका विभिन्न ८ वटा फुटबल क्लवको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो बुधबार हुने कुस्तीका सहायक प्रशिक्षक वेदनिधी भण्डारी(उमेश)ले बताए ।

