झापा, अषाढ २० । सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ ।
विर्तामोडमा शुक्रबार बिहान आयोजित सम्मान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका थिए ।
यहि वर्ष दर्ता भएको क्लबले फुटबलमा राम्रो प्रदर्शन गर्दै एक नम्बर प्रदेशकै एक मात्रै सी डिभिजन क्लबको रुपमा स्थापति हुदै ईतिहास रच्न सफल भएकोमा प्रमुख अतिथि थापाले बधाई दिएका छन् । साथै उनले आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने बताएका छन् ।

एन्फाको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै झापा फुटबल क्लब सी डिभिजन लिगमा छनोट भएको थियो । सोही अवसरमा क्लबका खेलाडी तथा अफिसियल लाई नगद सहित मेडल, सम्मान पत्र र खदा लगाएर सम्मान गरिएको थियो । सोही अवसरमा फुटबलमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिलाई समेत सम्मान गरिएको छ ।
आयोजक क्लबका अध्यक्ष गजेन्द्र बहादुर पौडेलले खेलाडीको उत्साहको लागि सम्मान गरेका बताए । कार्यक्रमका अतिथि झापा जिल्ला फुटबल संघका पुर्व अध्यक्ष तथा झापा एघारका अध्यक्ष जलकुमार गुरुङ्गले झापामा पछिल्लो समय फुटबल क्षेत्रमा भइरहेको राजनीतिले समग्र झापाली फुटबलकर्मीहरु लाई निरास बनाएको भन्दै सबैलाई सच्चिएर अगाडी बढ्न आग्रह गरे ।
झापा फुटबल क्लबको आयोजनामा संचारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उद्योग वाणिज्य संघ विर्तामोड अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख टहल दाश मैनाली, बलाराम कार्की, रुविना क्षेत्रीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न क्लबका प्रतिनिधि, पत्रकार र खेलाडीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

