काठमाण्डौँ, श्रावण १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीच व्यापारसम्बन्धी सन्धिसम्झौता समयमैँ परिमार्जन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आईतबार (आज) प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेकाले व्यापार सन्तुलित हुनुपर्ने बताए । नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भने “ हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ । ”
प्रधानमन्त्री ओलीले भने “व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । ”
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । “ हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको भन्दै पेट्रोलियम पाइपलाइनबाट नेपालको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारवहनसम्बन्धी समस्या समाधानका लागि सम्मेलन आयोजना गरिएको बताईन् ।

