काठमाण्डौं, श्रावण १३ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा भर्खरै प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरले भर्खरै पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशनका लागि साँझ ५ बजेदेखि बोर्ड बैठक बसेको थियो । बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।
गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो । नियमित तर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १ सय ५३ मध्ये सबै भन्दा माथिल्लो जीपए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा ३ हजार ६७ रहेका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ रहेको छ ।
सबै भन्दा धेरै विद्यार्थी २.०१ देखि २.४० जिपीए ल्याउने छन् उक्त समूहमा ८६ हजार २ सय २७ रहेका बोर्डले जनाएको छ । यसैगरी १.६१ देखि२.०० जिपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ र २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३ रहेको छ ।
१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेका बोर्डले जनाएको छ । ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिक तर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गत वर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थाले पनि आँशिकको भने पुरानै तरिकाले सार्वजनिक गर्दै आएको छ ।
दुई बर्ष अघि सम्म पहिलो चरणमा विज्ञानको मात्रै नतिजा सार्वजनिक गर्ने क्रमलाई अन्त्य गर्दै बोर्डले गत बर्षबाट सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न शुरु गरेको हो । गत बर्षको नतिजा साउन १७ गते सार्वजनिक भएको थियो । यस बर्षको नतिजा सार्वजनिक गर्नु अघि सोमबार दिउँसो बसेको बोर्ड बैठकले नतिजालाई अन्तिम रुप दिने औपचारिक निर्णय गरेको थियो ।
बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङकलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको थियो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गरेको छ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।
गत १५ वैशाखदेखि २६ सम्म सम्पन्न परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परिक्षा भएका थिए । वोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । वोर्डले कक्षा १२ को नतिजा जि।पी।ए का आधारमा प्रकाशन गर्दै आएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

