झापा, श्रावण २९ । विर्तामोडमा विजय दशमीको अवसर पारेर हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप २०७६ आयोजना हुने भएको छ । जायोन स्पोर्टस क्लब झापाले विर्तामोडको डोमालाल राजवंशी रंगशालामा यहि असोज ११ गते देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्ने मंगलबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रदेश नम्बर एक मै प्रतिष्ठित गोल्डकपको रूपमा स्थापित गर्ने उदेश्यका साथ प्रथम हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप २०७६ आयोजना गर्न लागेको जायोन स्पोर्टस क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको आयोजकले सोहि कार्यक्रममा प्रतियोगिताको ब्राण्ड एम्बासेडरमा नेपालको चर्चित पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षक हरि खड्का संग दुई लाखमा सम्झौता पनि गरेको छ । खड्कालले भने म पनि झापाली भएको नाताले झापामा हुने प्रतियोगितामा मैले पनि सहयोग गर्नु पर्छ भन्दै आयोजकलाई प्रतियोगिता सफल पार्न सहयोग स्वरुप एक लाख आयोजकलाई नै दिने घोषणा गरेका छन् ।
८० लाख बढि खर्च हुने अनुमान गरेको आयोजकले ९० प्रतिशत रकम संकलन भइसकेको र प्रतियोगिताको तयारी पनि तिब्र रूपमा भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगितामा २ विदेशी टिम सहित आयोजक र एडिभिजन गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने छन् । विजेता टिमले नगद १२ लाख ५० हजार र उपविजेता टिमले नगद ६ लाख २५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । साथै प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच र फाइनलमा विधागत रूपमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद सहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

