झापा, भाद्र ४ । एमरेल्ड अन्तर मावि क्रिकेट प्रतियोगिता-२०७६ को उपाधि विभूती विद्या मन्दिरले चुमेको छ । मेची रंगशालामा बुधबार भएको फाईनल खेलमा मोरन मेमोरियल बोर्डिङ्ग स्कुल भद्रपुरलाई ७ विकेटले पराजित गर्दै विभूती विद्या मन्दिर भद्रपुरले उपाधि रक्षा गरेको हो ।
मोरन मेमोरियल स्कुलले निर्धारित ८ ओभरमा ३९ रन जोड्दै अल आउट भएको थियो । ४० रनको लक्ष्य सहित मैदानमा उत्रेको विभुती विद्या मन्दिरले ४ विकेटको क्षतिमा विजयी हासिल गर्न सफल भएको हो ।
एमरेल्ड एकाडेमी स्कुल भद्रपुरको आयोजनामा भदौं १ गते देखि सञ्चालन भएको प्रतियोगितामा भद्रपुर नगरपालिका भित्र रहेका १० वटा संस्थागत विद्यालयहरुले सहभागिता जनाएका थिए ।
विद्यालयले स्थापना काल देखि अन्य खेल संगै बर्षेनी क्रिकेट खेलको विकास र विस्तार गर्दै नगर भित्र रहेका संस्थागत विद्यालयहरु बिच समन्वय र सहकार्य गर्ने उदेश्यले एमरेल्ड अन्तर मावि क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आईरहेको प्रतियोगिता संयोजक गंगाबहादुर खड्काले बताए ।

प्रतियोगितामा वेष्ट बलर एमरेल्ड एकाडेमीका सन्दिप राजवंशी, वेष्ट ब्याट्समेन विद्युर बोर्डिङ्ग स्कुलका हरिलाल राजवंशी र म्यान अफ द सिरिज विभुती विद्या मन्दिरका प्रशान्त कार्की घोषीत भए । उनिहरु संगै प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहल दाश मैनाली, कार्यक्रमका अध्यक्ष प्रा.डा पृथ्वी बिक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

