खेलकुद

हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिब्र

झापा, भाद्र २० । झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंङ्गशालामा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
आगामी असोज ११ गते देखि १८ गतेसम्म विजयादशमीको उपलक्ष्यमा सञ्चालन हुने उक्त प्रतियोगिता भब्य रुपमा सञ्चालन गर्न अहिले आयोजक लागि परेको छ ।
गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको र अहिले सम्म ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका प्रवक्ता अभिनाश राईले जानकारी दिए।

मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा आफ्नो पहिचान बनाउन आयोजक लागि परेको छ । यतिबेला फुटबलप्रेमी दर्शकहरुले पनि गोल्डकपलाई उत्साहाका साथ प्रतिक्षा गरिरहेका छन् ।
नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने छन् । जस अन्तर्गत प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ । अब तीन टिम “मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
गोल्डकप हेर्न आउने फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले बासको प्यारापिट निर्माण कार्य धमाधम भईरहेको छ । करिव २० हजार दर्शक क्षमताको बासको प्यारापिट निर्माणकार्य धमाधम भई रहेको आर्थिक संयोजक दिपेन्द्र आछामीले जानकारी दिए ।

बिर्तामोडको जायोन स्पोर्टस् क्लवको आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भव्य र सव्य रुपमा सफल बनाउन सबै संग सहकार्य गर्दै अगाडी बढीरहेको गोल्डकप आयोजक समितिका अध्यक्ष भक्त खवासले बताए ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान आयोजकको छ । गोल्डकपका लागि चर्चित राष्ट्रिय पूर्व फुटबलर तथा राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई आयोजकले यसअघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.