लक्ष्मी उप्रेती
झापा, असोज ९ । आसन्न चाडपर्वहरूलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गर्नुभएको छ । चाडपर्वका बखत मानिसहरूको आवतजावत निक्कै बढ्ने भएकाले ती समयमा दुर्घटना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदै नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दसैँ तिहार तथा छठलगायतका चाडपर्वलाई दुर्घटनारहित बनाएर धनजनको क्षति हुन नदिई एक आपसमा हासीखुशी मनाउन समेत आम नगरवासीसहित सम्बन्धित व्यवसायीहरूमा आग्रह गर्नुभएको हो ।
बिहीबार नगरपालिका सभाकक्षमा नगरभित्र सञ्चालन हुने साना तथा मझौला सवारी साधन टेम्पो, पाइढल रिक्सा सिटी सफारी, म्याजिक भ्यान, तथा अन्य सवारी साधनहरूको भाडा दर एवम् व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरूसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख आचार्यले यस्तो आग्रह गदै यसतर्फ सवै जना सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो । आफ्ना हरेक सवारी साधनलाई यात्रु मैत्री बनाउन आग्रह गदै प्रमुख आचार्यले आफ्नो पेसालाई मर्यादित बनाएर अनुशासित भएर जिम्मेवार पूर्वक सञ्चालन गर्न समेत सम्बन्धितपक्षलाई सुझाव दिनुभयो ।
उहाँले हरेक सवारी साधनको भाडादरमा एकरूपता हुनुपर्ने बताउदैं चाडपर्वको मौका छोपेर कसैले पनि आफूखुसी भाडा बृद्घि नगर्न जोड दिनुभयो । यदि कहीँ कतै कसैले अहिले पनि सवारी मापदण्ड अनुसार बढी भाडा असुल्ने गरेको भए तत्काल बन्द गर्न भन्दै प्रमुख आचार्यले यदि अनुगमनका क्रममा वा कुनै यात्रुले सम्बन्धित निकायमा उजुरी गरे त्यस्ता सवार साधन वा चालकलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभयो ।
यातायात व्यवसायी तथा मजदुरका कहीँ कतै कुनै समस्या भए तत्काल सम्बन्धित निकायमा राख्न अनुरोध गदै स्थानीय सरकार, यातायात व्यवस्था कार्यालयलगायतका सङ्घ संस्थासँगको समन्वयमामात्र भाडा बृद्घि गर्नुपर्ने उहाँको भनाई थियो । संस्थागतरुपमा भाडा दर निर्धारण गर्न समेत उहाँले आग्रह गदै सवारी सञ्चालन व्यवसाय समेत मानवीय सम्बन्धसँग गाँसिएकाले हरेक यात्रुहरूसँग मीठो, नरम बोलीचाली गर्न समेत हरेक यातायातसँग सम्बद्ध सङ्घ संस्थाका पदाधिकारीहरूलाई जानकारी गराउनुभयो
हरेक सवारी धनी तथा चालकले आफ्ना सवारी साधनका आवश्यक कागजात, सवारी चालक अनुमति पत्र चुस्त दुरुस्त राख्नुपर्ने उहाँको भनाई थियो । आफ्ना कागजात कमजोर भए त्यस बखत दुर्घटना हुन गए आफू कमजोर हुने भएकाले समय समयमा सम्बन्धित निकायमा गएर कर तिर्न कागजात नवीकरण गर्न समेत उहाँको आग्रह थियो । सरकारलाई ढाँटेर वा कर छलेर कसैले व्यवसाय सञ्चालन गर्छ भने कुनै न कुनै बेला उ दण्डित हुने प्रस्ट पार्नुभयो ।
हरेकले चालक तथा यातायात व्यवसायीहरूले सवारी तथा ट्राफिक नियम पालना गर्नु पहिलो कर्तव्य रहेको उहाँले बताउनुभयो । यातायात व्यवसायी तथा मजदुरका समस्याप्रति आफू राम्रोसँग जानकार भएकाले कहीँ कतै कसैले करका नाममा कसैलाई अनावश्यक दुःख दिए तत्काल नगरपालिका तथा नजिकैको इलाका प्रहरी कार्यालयमा खबर गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । नगरभित्रका सडकहरूका कारण यातायात व्यवसायी, चालक तथा मजदुरले समस्या भोग्नु परेको भन्दै नगरप्रमुख आचार्यले नगरपालिकाले ती सडकहरूको मर्मत तथा सम्भार र सुधार गरिरहेको प्रस्ट पार्नुभयो ।
उपप्रमुख मिना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर यात्रुहरूसँग जताभावीरुपमा भाडा असुल्नु गैरकानुनी काम भएको भन्दै त्यस्तो कानुनले बन्देज गरेको काम नगर्न सुझाव दिनुभयो । अहिले राष्ट्रिय राजमार्गमा राता रङ्गका यात्रुवाहक बसहरूका बारेमा सर्वसाधारणको गुनासो बढेको भन्दै उपप्रमुख उप्रेतीले त्यसपक्षका व्यवसायीहरूलाई समेत बोलाएर छलफल गरी समाधान खोज्ने प्रस्ट पार्नुभयो ।
उहाँले जथाभाबी सवारी साधन पार्किङ गर्दा सडक जाम हुने, बजारसहित विभिन्न ठाउँहरू अस्तव्यस्त हुने हुँदा त्यसलाई व्यवस्थित बनाउने र मेचीनगरलाई स्वच्छ सफा हरियाली र हराभरा बनाउने जिम्मा सबैको काँधमा रहेको बताउनुभयो । अहिले साँझ परेपछि बसहरूले छोटो दुरीसम्म यात्रुलाई चढ्न नदिने परम्परा बसेको भन्दै तत्काल त्यसबारेमा समेत छलफल गर्ने उहाँले बताउनुभयो । यदि कसैले स्थानीय सरकारले बनाएको कानुनको पालना गर्दैन भने त्यस्ता व्यक्ति वा व्यवसायीहरूले कानुनी कारबाही भोग्ने हुँदा त्यस बेला नगरपालिकाले समेत उसलाई बचाउनतर्फ नलाग्ने उहाँको भनाई थियो ।
वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले पार्किङ निषेधक्षेत्रमा कसैले जबरजस्ती आफ्ना सवारी साधन पार्किङ गरे स्थानीय प्रशासनले दण्ड जरिवाना गर्ने भएकाले कसैलाई पनि अनावश्यकरुपमा दण्ड जरिवाना तिर्ने वातावरण आफै सिर्जना नगर्न सुझाव दिए । तोकेको ठाउँमा मात्र सवारी साधन पार्किङ गरे दुर्घटना समेत कम हुने उहाँको विश्वास थियो ।
अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले कुनै पनि सवारी साधनले कुनै यात्रुलाई ठग्ने प्रयास गरेर मापदण्ड अनुसारभन्दा बढी भाडा लिएको उजुरी परे तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले सडक छाडा चौपाया कारण दुर्घटना बढ्ने हुँदा चौपाया नियन्त्रणमा समेत ध्यान दिन चौपायधनीलाई अनुरोध गर्नुभयो । प्रहरीले चाडपर्वका बखत चेकजाँचलाई तीव्र पार्नै भएकाले आफ्ना सवारी साधनका कागजात चुस्त दुरुस्तरुपम ारँखन, प्रहरीले खोजेका बेला तत्काल उपलब्ध गराउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन समेत सवैमा आग्रह गर्नुभयो ।
कसैलाई सवारी तथा ट्राफिक नियमको आवश्यक परे नगरपालिकाको समन्वयमा आफूहरूले तालिका तथा प्रशिक्षण प्रदान गर्ने विश्वास दिलाउनुभयो । सम्बन्धित पक्षले सचेत मात्र गराउने र कार्यान्वयन आफैले गर्नुपर्ने उहाँको भनाई थियो । दुर्घटनाको पीडा स्वयम् आफै र आफ्ना परिवारलाई थाहा हुने हुँदा दुर्घटनारहित चाडपर्व मनाउन पनि उहाँले सवैमा आग्रह गर्नुभयो । मेचीनगरक्षेत्रमा दुर्घटना कम गर्न नगरका विभिन्न ठाउँमा डमी ट्राफिक राखेको उहाँले प्रस्ट पार्नुभयो । सवारी नियम उल्लङ्घन गरे जोखिम बढ्ने भएकाले त्यसतर्फ सचेत हुन पनि उहाँले यातायात चालक व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी यातायात व्यवसायी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि तथा चालकहरूले आफूहरूले बेहोर्नु परेको समस्याका बारेमा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीलाई जानकारी गराएका थिए । आफूहरू हरेक कानुन मान्न तयार रहेको भन्दै उनीहरूले सडकका खाल्डाखुल्डी, दर्ता प्रक्रिया, पार्किङ, दिनानुदिन बढेको सवारी साधनको सङ्ख्यालगायतका कारण आफूहरू समस्यामा परेको बताए । हरेक दिन जसो पेट्रोलियम पदार्थको मूल्य बढे पनि आफूहरू भने सातवर्षअघि निर्धारण गरेको भाडादरमा यात्रु बोक्न बाध्य भएको उनीहरूको गुनासो थियो । अब यी सवारी साधनको व्यवस्थापनमा नगरपालिका सक्रिय हुन समेत आग्रह गरेका थिए । भारतीय नम्बर प्लेटका सवारी साधनका कारण आफूहरू मारमा परेको उनीहरूको गुनासो थियो ।
यी सारा कुराको समाधानका लागि नगरपालिका अहोरात्र लागेको तथा यातायातलगायत अन्य सङ्घ संस्थाहरूसँग समन्वय गरेर समाधानमा लाग्ने नगरप्रमुख आचार्यले सबैलाई आश्वासन दिनुभयो । हरेक समस्या नगरपालिकाले सम्बोधन गर्ने उहाँको भनाई छ । कार्यक्रममा यातायात व्यवसायीहरू पूर्णबहादुर योङ्गहाङ्ग, भीमप्रसाद लामिछानेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिका कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक कृष्ण कनालले गर्नुभएको थियो । सहभागी सबैको गुनासो आर्थिक विकास शाखा प्रमुख तथा खाद्य विश्लेषक दीपेन्द्र कार्कीले गर्नुभएको थियो ।

