झापा, पुष । मेचीनगर– ११ मा गठित टोल विकास संस्थाका पदाधिकारीलाई संस्थाको काम र जिम्मेवारी बारे सोमबार प्रशिक्षित गरिएको छ ।
सामुदायिक विकास मञ्चको आयोजना र मेचीनगर ११ नम्बर वडा कार्यालयको सहयोगमा संस्थाका पदाधिकारीलाई लक्षित गरी अभिमुखिकरण सञ्चालन गरिएको हो ।
एक दिने अभिमुखिकरण कार्यक्रममा वडाका २४ वटा टोल विकास संस्थाका २ ÷२ जना प्रतिनिधिले सहभागिता जनाएका थिए । त्यसक्रममा टोल विकास संस्था परिचालन कार्याविधि–२०७५ का बारेमा विस्तृत जानकारी गराइएको थियो ।
अभिमुखिकरणपछि प्रत्येक टोल विकास संस्थालाई संस्था सञ्चालनका लागि आवश्यक सामाग्रीसहितको १÷१ थान बाकस वितरण गरिएको थियो । वडा सदस्य अञ्जु प्रसार्इंले स्वागत गरेको उक्त कार्यक्रममा वडा अध्यक्ष सन्तोषकुमार मेचेले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष मेचेले टोल विकास संस्थालाई अधिकार प्रदान गरी सक्षम बनाइने बताए ।
टोल विकास संस्थाले पनि वडाको समन्वयमा टोलको विकासका लागि सक्रियतापूर्वक भाग लिनुपर्नेमा उनले जोड दिए । अभिमुखिकरणको सहजीकरण आयोजक मञ्चका अध्यक्ष सोमराज ढकाल र नाइट चेस क्लवका अनुगमन तथा मूल्यांकन अधिकृत गोविन्द न्यौपानेले गरेका थिए ।

