काठमाडौं, पुष २२ । भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ। एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो।
पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ ९जनवरी २२० मा मृत्युदण्ड दिने फैसला सुनाएको हो।
बलात्कारपछि हत्या गरेको आरोप लागेका चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मा दोषी ठहर गरेको थियो। उनीहरुले मृत्युदण्डको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतले गत डिसेम्बरमा उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गर्ने निर्णय गरेको थियो ।
सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा उनीहरुले २३ वर्षीया निर्भयाको बलात्कार गरेर हत्या गरेको थियो । सो घटनामा ६ जनाको संलग्नता रहेको थियो । घटनामा संलग्न रहेका एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन् भने अर्का एक जना नाबालक रहेको भन्दै सुधारगृहमा पठाइएको थियो । निर्भयाकी आमा आशादेवी ७ वर्षदेखि छोरीको आत्मको शान्तिका लागि न्यायको लडाई लड्दै आएकी थिइन् । उनले अदालतले सुनाएको फैसलाको स्वागत गर्दै छोरीले न्याय पाएको प्रतिक्रिया दिएकी छिन् । एजेन्सी

