खेलकुद

माइभ्यालीको खेल तालिका सार्वजनिक


नरेन इलामेली
इलाम, फागुन ५ ।
पूर्वी पहाडकै सर्वाधिक धन राशीको लोकप्रिय फूटबल प्रतियोगिता छैटौँ संस्करणको अन्तराष्ट्रिय माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । फागुन १५ गतेबाट इलामको ठूलो टुँडिखेलमा संचालन हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको हो ।

यस बर्ष पनि विगत बर्षमा झै विदेशी सहित नेपालका चर्चित टीमहरुको सहभागिता रहने छ । यस बर्ष प्रतियोगितमा भारतीय टीमहरु नागाल्याण्डको कोहिना ईगल फूटबल क्लब, दार्जिलिङ्गको एमएफसी, सिक्किमको ग्यान्टोक सिटी फूटबल कल्ब, कोलकत्ताको मोहम्मडन स्पोर्टिङ्ग क्लब सहित नेपाली टीमहरु रुपन्देहीको गोर्खा ब्वाइज फूटबल क्लव, काठमाण्डौको मछिन्द्र क्लब, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, झापाको झापा ११ र आयोजक इलामको माइभ्याली फूटबल क्लबको सहभागिता रहने छ ।
सोमबार सार्वजनिक खेल तालिका अनुसार फागुन १५ गतेबाट सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा कोहिमा इगल फूटबल क्लब नागाल्याण्ड र गोर्खा ब्वाइज क्लब रुपन्देही आमने सामने हुने छन् । त्यस्तै १६ गते आयोजक माइभ्याली फूटबल क्लब र ग्यान्टोक सिटी फूटबल क्लब सिक्किम , १७ गते एमएफसी दार्जिलिङ्ग र झापाको झापा ११ विच प्रतिस्पर्धा हुनेछ भने १८ गते काठमाण्डौका टीमहरु त्रिभुवन आर्मी र संकटा क्लब विच प्रतिस्पर्धा हुने छ ।

इलाम कै गौरवको रुपमा संचालन हुने प्रतियोगिता आगामी फागुन २५ गते सम्म संचालन हुने छ । प्रतियोगितको विजेताले नगद आठ लाख र उपविजेताले पाँच लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै हरेक खेलको म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेण्टलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

विगत बर्षहरुमा टुवोर्ग वियरले प्रायोजन गर्दै आएको माइभ्याली गोल्डकपलाई यस बर्ष भने नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडले प्रायोजन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.