युवराज आचार्य
झापा,फागुन १६ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा भोली देखि साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) लाग्दै छ । महोत्सवलाई सफल पार्न यतिबेला आयोजक कम्मर कसेर लागि परेको छन् ।
सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव शनिवार (भोली) देखि लाग्दै छ । महोत्सवको उद्घाटन जेसीआई सिनेटर अशोक शंकरले गर्ने आयोजकका देबु बाँनियाले जानकारी दिए ।
प्रवेश शुल्क रु ५० रहेको महोत्सवको पहिलो दिन भोली ख्यातीप्राप्त राष्ट्रिय कलाकार आस्था राउतको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
महोत्सवका अवलोकनकर्तालाई ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको आयोजक समितिका संयोजक प्रविन भण्डारीले बताए । महोत्सवमा विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलकलगायत ४२ वटा स्टल रहनेछन् ।
साताव्यापी महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, पुष्पन प्रधान, आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रितम आचार्य, लाहुरेलगायतको प्रस्तुति रहने छ । त्यस्तै, महोत्सवमा वेभ ब्याण्ड, आरम्भ ब्याण्ड, मन्त्र ब्याण्डलगायतका विभिन्न ब्याण्डको प्रस्तुति रहने आयोजकका कञ्चन उप्रेतीले बताए ।

