झापा,फागुन १६ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा भोली देखि साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) लाग्दै छ । आयोजकले शुक्रवार महोत्सव परिसरमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव शनिवार (भोली) देखि आयोजना हुँदैछ । महोत्सवको उद्घाटन डिजिटल प्रविधि द्वारा जेसीज केन्द्रीय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले गर्ने आयोजकका देबु बाँनियाले जानकारी दिए ।
प्रवेश शुल्क रु ५० रहेको महोत्सवको पहिलो दिन भोली ख्यातीप्राप्त राष्ट्रिय कलाकार आस्था राउतको साथमा भारतको शिलगुढी स्थित अराइभ्ड ब्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सवका अवलोकनकर्तालाई ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको आयोजक समितिका संयोजक प्रविन भण्डारीले बताए । महोत्सवमा विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलकलगायत ४० वटा स्टल रहनेछन् ।
साताव्यापी महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, पुष्पन प्रधान, आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रितम आचार्य, लाहुरेलगायतको प्रस्तुति रहने छ । त्यस्तै, महोत्सवमा वेभ ब्याण्ड, आरम्भ ब्याण्ड, मन्त्र ब्याण्डलगायतका विभिन्न ब्याण्डको प्रस्तुति रहने आयोजकका कञ्चन उप्रेतीले बताए ।

