काठमाडौँ, चैत १० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरा लुटपाटमा संलग्न प्रहरीदेखि पत्रकारसम्मलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन्। पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन्।
मकवानपुरको कैलाश गाउँपालिका–५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए। लुटपाट भएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ। प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश-३-०१-०१-००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

