काठमाडौं, चैत २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ६९ हजार ४१८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०८ देशमा पुगेको कोरोना भाइरसबाट १२ लाख ७२ हजार ७३७ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।
२४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।
दोस्रो धेरै संक्रमित स्पेनमा भएका छन् । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । अहिलेसम्म स्पेनमा १२ हजार ६४१ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ६९४ जनाको मृत्यु भएको छ ।
त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ५२५ जनाको मृत्यु भएको छ।

