काठमाडौं, बैशाख १२ । झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दमकका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ । काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ ।
दश जना उपचारपछि घर फर्किसकेका छन् ।

