हरि प्रसाद दाहाल
काठमाडौं, असार २३ । मन्त्रिपरिषदको आज बसेको बैठकमा दुई जनासम्म यात्रु राखी ट्याक्सी सञ्चालन गर्न दिने तयारी र ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल गरेको छ ।।
एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ। ‘यसबारे कोभिड(१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा छलफल गरेर निर्णय हुनेछ ।’
यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताए ।
आज साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् ।

