काठमाडौं, असार ३० । स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २–१ ले पराजित गरेको छ । रियले लिगमा यो लगातार नवौं जित दर्ता गरेको छ ।
खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी बढाउँदै तीन डिफेन्डरको चुनौती पार गर्दै रियलका लागि पहिलो गोल गरेका थिए ।
अग्रता लिएको ६ मिनेटमै रियल २–० ले अगाडी बढ्न सफल रह्यो । फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट नियन्त्रणपछि गरेको प्रहार गोल भएको थियो । लुका मोड्रिचको पासलाई बेन्जेमाले अगाडी बढाएर डिफेन्डरलाई छक्याउँदै दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो ।
दोस्रो हाफको ५ मिनेटमै घरेलु टोली ग्रानडाले गोल फर्काउँदै खेलमा फर्किएको संकेत दियो । यंगल हरेराको पासमा माचिसले गोल गर्दै रियलको अग्रता कम गरेका थिए । माचिसको प्रहार गोलरक्षक कोर्टुवाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको ५ मिनेट समय बाँकी रहँदा ग्रानडाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । पेनाल्टी क्षेत्रभित्र एन्टोनिनको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाए । लगत्तै रामोन अजिजको प्रहार कप्तान सर्जियो रामोसले गोललाइनबाट क्लियर गर्दै रियलको अग्रता जोगाए ।
यस जितसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । रियलले अब अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि पक्का गर्नेछ ।एजेन्सी




