नरेन इलामेली
इलाम, साउन १६ । अधिकांश मानिसको चहना जागिरमा हुन्छ, सके सरकारी नसके निजी नै भए पनि । त्यो पनि नभए बैदेशिक रोजगारी, नेपाल कृषिप्रधान देश भए पनि कमैको मात्र रोजाईमा पर्ने गर्छ व्यवसायिक कृषि । तर इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार का गोविन्द घिमिरे र तीर्थराज काफ्लेले भने सरकारी जागिर र व्यापारका साथसाथै व्यवसायिक कृषि फार्म संचालन गरिरहेका छन् । फार्मका संचालक घिमिरे अमरकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन भने काफ्ले नयाँबजार क्षेत्रका पुराना व्यापारी हुन् ।
माइजोगमाई गाउँपालिकाको नयाँबजार नजिकै ४५ रोपनी जग्गा बार्षिक एक लाख ५० हजारमा ठेक्कामा लिएर गत कार्तिक देखि सुरु गरिएको नमुना कृषि तथा व्यवसायिक बाख्रा फार्म भविष्यमा बैकल्पिक रोजगारीको दीगो श्रोत बन्न सक्ने फार्म संचालकद्वय घिमिरे र काफ्लेको विश्वास रहेको छ ।

घरेलु तथा साना उद्योग विकास समिति इलाममा दर्ता गरी १२ लाख रुपैँयाको लगानीमा सुरु गरिएको सो फार्ममा हाल जमुनापारी, पुपुङ्गे र स्थानिय जातका गरी ५२ बटा खसीबाख्रा, ४ सय बटा लोकल कुखुरा , स्थानिय जातका २ वटा गाई र गाजर,मुला धनिँया, बन्दा, खुर्सानी लगायतका दर्जनौँ प्रजातिका सागसब्जी लगाइएको संचालक घिमिरेले बताए ।
नेपाल कृषिप्रधान देश भए पनि पछिल्लो समय अधिकांशको रोजाई सरकारी जागिर वा बैदेशिक रोजगार बन्दै गरेको अवस्थामा जागिर वा बैदेशिक रोजगार दीगो नहुने र काम छोडेका दिनबाट आम्दानीको श्रोत पनि बन्द हुने भएकाले सरकारी जागिरसँगै दिर्घकालिन पेशाका रुपमा कृषि पेशालाई अँगालेको घिमिरेको भनाई छ । साथै देश भित्रै रोजगारीको अवसर खोजिरहेकाहरुलाई एउटा पाठ समेत बन्ने उनको बुझाई छ । हाल यस फार्मले २ जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत प्रदान गरेको छ ।

४५ रोपनी जग्गा मध्ये २० रोपनीमा गाईबाख्राका लागि घाँस लगाइएको छ । आगामी दिनमा यस फार्मलाई विस्तार गरी गाई, बाख्रा र कुखुराको संख्या बढाउँदै माछा पालन समेत गर्ने योजना रहेको फार्मका अर्का संचालक तीर्थराज काफ्लेले बताए । “बाख्रापालन नै हाम्रो पहिलो प्राथमिकता हो जसका साथसाथै कुखुरापालनलाई समेत बृहत रुपमा विकास गर्ने र माछा पालनमा पनि जोड दिने योजना रहेको छ । माछा पाल्नका लागि दुई वटा पोखरी समेत बनाइसकेका छौँ विश्वभर फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनका कारण भुरा भने हाल्न सकेका छैनौँ । गाई पालन र प्राङगारिक तरकारी खेतीलाई समेत निरनतरता दिन्छौँ ”– काफ्लेले भने।
पmार्म संचालन सुरु गरेसँगै माइजोगमाई गाउँपालिकाबाट एक थान च्याप्कटर प्राप्त भएकाले घाँस काट्न सहज भएको र घाँसको बचत समेत भएको उनको भनाई छ । साथै अहिले फार्म आफ्नै परम्परागत सोच र तरिकाबाट संचालन भइरहेकाले यस सम्बन्धि तालिम र प्राविधिक ज्ञान पनि भए व्यवसाय संचालन गर्न थप सहज हुने उनको भनाई छ । “यस पेशाको मुख्य चुनौती भनेकै प्राविधिक ज्ञानका अभाव र बजारको समस्या हो , यस तर्फ स्थानिय सरकारले ध्यान दिएर कृषि सम्बन्धि तालिम, प्राविधिकको व्यवस्था र बजारको लागि सहजिकरण गरिदिए यस पेशालाई दिगो बनाउन सकिने र जो कोहीलाई पनि यस पेशा रोज्न प्रोत्साहन मिल्ने थियो । साथै रोजगारीको अवसर सिर्जना हुने र सिंगो गाउँपालिकालाई नै कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने थियो ” –काफ्लेले भने ।
पछिल्लो समय नेपालमा कुनै सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीलाई आफ्नो लक्ष्य बनाएका युवायुवतीहरुलाई स्ुथानिय स्तरमै सानो सानो लगानीबाटै कृषि कर्म गर्दा पनि मनग्यै आम्दानी हुने र परिवारसँगै बसेर सुख दुःख साट्दै आनन्दपूर्वक जिविकोपार्जन गर्न सकिने भएकाले देश भित्रका सम्भावना र अवसरहरु लत्याएर बैदेशिक रोजगारीमा नजान फार्म संचालकद्वय घिमिरे र काफ्लेको सुझाव समेत रहेको छ ।

