मेचीनगर, साउन २१ । मेचीनगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । र्याच फेमिली ट्रष्ट दुवईको आर्थिक सहयोगमा मेचीनगर वडा नम्बर २, ३ र ४ का विपन्न १६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनिरहेको नोबेल कोरोना भाइरस कोविट–१९ को संक्रमण यतिबेला नेपालमा पनि बढ्दो छ । अहिलेको बिषम् परिस्थितिमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सामान्य तथा अति विपन्न परिवारलाई दुई छाक टार्न समस्या परिरहेको बेला झापा बुद्धशान्ति हाल दुवईमा रहेकी नविना विश्वकर्माको नेतृत्वमा रहेको र्याच फेमिली ट्रष्टले राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरेको हो ।

र्याच फेमिली ट्रष्टले दिपज्योती टोल विकास संस्था मेचीनगर वडा नम्बर २ र मेचीनगर वडा नम्बर ४ वडा कार्यालयको संयोजनमा बुधबार विपन्न १६० परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री घर घरमा नै पुर्याएर वितरण गरेको छ ।
ट्रष्टले मेचीनगर–४ का विपन्न ६० घर परिवारलाई राहत स्वरुप प्रत्येक परिवार १५ केजी चामल, १ केजी दाल, १ पोका खानेनुन, १ लिटर खानेतेल र १ केजी चिनी उपलब्ध गराएको थियो ।
त्यसैगरी मेचीनगर– २ र ३ मा १०० घर परिवारलाई राहत स्वरुप प्रत्येक परिवार १५ केजी चामल, १ केजी दाल, १ पोका खानेनुन, १ लिटर खानेतेल, १ केजी चिनी र १ वटा नुहाउने साबुन उपलब्ध गराएको थियो ।
दिपज्योती टोल विकास संस्था मेचीनगर–२ का अध्यक्ष धनबहादुर राईको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा मेचीनगर–४ का वडा सदस्य विनोद रञ्जितकारको प्रमुख आतिथ्यता रहेको थियो । दपज्योती टोल विकास संस्थाका जेष्ठ नागरिक ज्ञानबहादुर कालिकोटे, ललित बहादुर प्रधान, जितबहादुर राईलगायतको आतिथ्यता रहेको थियो ।

