खेलकुद

जोउक्सलाई हराउदै सिपिएलको उपाधि ट्रिन्बागो नाईट राईडर्सलाई

काठमाडौं, भदौ २६ । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलको उपाधि ट्रिन्बागो नाईट राईडर्सले जितेको छ । सेन्ट लुसीया जोउक्सलाई ८ विकेटले हराउदै ट्रिन्बागोले चौथो पटक सिपिएलको उपाधि हात पारेको हो ।

ट्रिन्बागोले जारी सिजनको सिपिएलमा अपराजित रहदै उपाधि समेत हात पारेको हो । लुसीयाले दिएको १ सय ५५ रनको चुनौती ट्रिन्बागोले ११ बल अगावै २ विकेट गुमाएर भेट्टायो । तेस्रो विकेटका लागि लेण्ल सिमोन्स र डरेन ब्राभोले उत्कृष्ट साझेदारी गरेपछि ट्रिन्बागोले सहजै लक्ष्य भेट्टाएको थियो । सिमोन्स ८४ र ब्राभो ५८ रनमा अविजित रहदै टोलीलाई उपाधि दिलाएका थिए । सेन्ट लुसीयाका रोष्टन चेस र स्कट कुग्लीजीनले समान एक विकेट लिए ।

यसअघि ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा एकेडेमीको मैदानमा पहिले ब्याटिङमा उत्रिएको सेन्ट लुसीया ५ बल अगावै १ सय ५४ रनमा समेटिएको थियो । आन्द्रे फ्लेचरले सर्बाधिक ३९ रन बनाएको ईनिङसमा मार्क डियालले २९ र नाजिबुल्लाह जर्दानले २४ रन बनाए । रोष्टन चेसले २२ रन जोडे ।

ट्रिन्बागोका कायरन पोलार्डले ४, अली खान र फवाद अहमदले समान २ तथा अकेला हुसैनले एक विकेट लिए ।

६ टोली रहेको सिपिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध जमैका तलावाज भने सेमिफाईनलमै रोकिएको थियो ।